Follow us: Youtube Android App
Somersby Nepal
​जताततै रेलमार्गको कुरा : साँच्चै कुद्ला र नेपालमा रेल ?
२६ चैत्र २०७४


पहिलोपटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओलीले नेपालमा रेल चलाउने भन्दा धेरैले ठट्टामा उडाए ।

तर, ओली अहिले प्रधानमन्त्री भएपछि रेल चलाउने कुरा भाषणमा होइन, योजनामै समेटिन थालेको छ । अहिले त नेपाल आफैंले मात्र होइन छिमेकी देश भारत र चीनले समेत रेलमार्ग बनाउने भनेपछि धेरैलाई आफ्नै पालामा रेल चढ्न पाइएला त भन्ने कौतुहल बढेको छ ।

 

उत्तरको रेल काठमाडौंमा ल्याउने सम्झौता भएको २ वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ । सम्झौता कार्यान्वयन हुने हो भने काठमाडौं दुई देशको रेलमार्गबाट जोडिने छ नै, अरु ठाउँमा पनि रेल कुद्नेछ ।
रेलमार्ग विस्तारमा दुई छिमेकीको प्रतिस्पर्धा

 

नेपालमा रेलमार्ग विस्तार गर्न दुई छिमेकीबिच प्रतिस्पर्धा नै देखिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा शनिवार रेललाइन विस्तारका विषयमा चारबुँदे सम्झौता भएको छ । भारतले रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग जोड्न सहमत भएको छ ।

 

नेपाल भारत सीमा क्षेत्र रक्सौलसम्म अहिले पनि रेल चलिरहेको छ । रक्सौलदेखि वीरगंज हुँदै काठमाडौं विद्युतीय रेलमार्ग भारतको लगानीमा बनाउने भनिएको छ । त्यसका लागि एक वर्षभित्र नेपाल सरकारको सहयोगमा सर्भेक्षण सुरु गर्ने सहमति भएको हो ।

 

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्याय नेपाल र भारत सरकारबीच भएको यो सहमति निकै सकारात्मक रहेको बताउनुहुन्छ । उहाँले वीरगंज काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो । तर विगतमा भारतसँग भएका विभिन्न आयोजना अझै अलमलमै रहेकाले विद्युतीय रेल विस्तार पनि कार्यान्वयन हुनेमा विश्वास गर्न नसकिने विज्ञहरुको बुझाई छ ।

 

त्यस्तै चीनले पनि केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल जोड्नेगरी योजना अगाडि सारेको छ । यसअघि २०७२ चैतमा भएको ओलीको चीन भ्रमणमा केरुङबाट रसुवागढी हुँदै काठमाडौं रेलमार्ग विस्तार गर्ने सम्झौता भएको थियो । यो रेलमार्ग काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने चीनको योजना छ ।
नेपालमा रेलमार्ग कहाँदेखि कहाँसम्म ?

  

  रक्सौलदेखि वीरगञ्ज हुँदै काठमाडौं
    केरुङबाट रसुवागढी हुँदै काठमाडौं
    काठमाडौं, पोखरा हुँदै लुम्बिनी
    भारतसँग नाका जोडिएका मुख्य शहर
    पूर्व–पश्चिम रेलमार्ग

 

रक्सौलदेखि वीरगंज हुँदै काठमाडौं रेल कुद्न झण्डै ६ बर्ष लाग्ने अनुमान रेल विभागको छ । संम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयारका लागि १ बर्ष लाग्ने रेल विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पूर्वतयारीमा १ बर्ष र निर्माण काम धमाधम हुने हो भने ५ वर्ष गरी ६ वर्षमा रक्सौलबाट काठमाडौं रेल आउने वातावरण बन्नेछ ।..

Source