पत्रकारका पनि पत्रकार हुन् उनी । उनको समाचार कक्षमा काम गरेका धेरै पत्रकार अहिले चल्तीका सम्पादक छन् ।
उनले पढाएका सयौं पत्रकार अहिले पत्रकारिताको अभ्यास गरिरहेका छन् । उनकै विद्यार्थी अहिले उनकै अन्तर्वार्ता लिन उनकै घरसम्म पुग्छन् ।
उनी– यानेकि पी खरेल । नेपाली पत्रकारिताका सर्वकालीन हस्ती ।
४४ वर्ष भयो उनले पत्रकारिता सुरु गरेको । ३८ वर्ष भयो पढाउन थालेको । लामो अनुभव र खारिएको व्यक्तित्व हुन् पी खरेल । त्यसैले त उनीसँग एउटै ‘इभेन्ट’को समाचारमा दर्जनौं एंगल हुन्छन् । समाचारको प्रस्तुतिमा फरक ‘टेस्ट’ दिन सक्ने ल्याकत राख्छन् ।
लक्ष्य पत्रकार कि प्राध्यापक ?
एसएलसी दिँदा नै उनले आफ्नो भविष्य निर्धारण गरिसकेका थिए– इतिहास र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्छु अनि प्रोफेसर बन्छु ।
०२५ सालमा एसएलसी दिए । साढे १२ हजार परीक्षार्थीमा साढे ३ सयमात्रै पास भए । त्यसमा उनी पनि एक थिए । पहिलो श्रेणीमा उनले फलामे गेट नाघे ।
समय त्यो बेला पनि अहिलेको जस्तै थियो । सके विज्ञान, नसके कमर्स, त्यो पनि नसके बल्ल मानविकी वा शिक्षा पढ्ने चलन थियो । आर्थिक र पढाइमा कमजोरहरूले मात्रै मानविकी र शिक्षा पढ्छन् भन्ने मानसिकता थियो ।
तर, यी दुई ‘क्याटेगोरी’मा नपरे पनि खरेलले आफ्नो अठोट छाडेनन् । मानविकीमा भर्ना भए । राजनीतिशास्त्र, अंग्रेजी र इतिहास रोजे । स्नातकमा अंग्रेजी छोडे । इतिहास र राजनीतिशास्त्रलाई अगाडि बढाए ...