काठमाडौँ — नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गत पुस २८ मा गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको हो ।
लामिछानेमाथि गत भदौ ५ गते राति एक नाबालिगलाई काठमाडौंको तिलगंगास्थित होटलमा लगेर बलात्कार गरेको अभियोग छ । राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि केन्या उड्नु अघिल्लो साँझ उनी क्लोज क्याम्पबाट निस्केर नाबालिग बलात्कारमा मुछिएका हुन् । केन्याका खेलहरू सकेर जमैकामा सीपीएल खेलिरहेका बखत लामिछानेविरुद्ध पीडित किशोरीले भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनलाई सीपीएलले आफ्ना प्रतियोगिताबाट हटाएको थियो भने नेपाल क्रिकेट संघ (क्यान) ले पनि कप्तान र राष्ट्रिय खेलाडीबाट निलम्बन गरेको थियो ।
आफूमाथि आरोप लागेपछि लामिछानेले सामाजिक सञ्जालमा नेपाल फर्किएर अनुसन्धानलाई सघाउने उल्लेख गरेका थिए । तर उनी करिब एक महिनासम्म लुकेका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेलाई फरार सूचीमा राख्दै ‘डिफ्युजन’ नोटिस जारी गरेपछि उनी असोज २० मा नेपाल फर्किएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ...