Follow us: Youtube Android App
Somersby Nepal
अंग्रेजी माध्यमको पढाईप्रति विद्यार्थीको आकर्षण बढ्यो
१९ बैशाख २०७५


तेह्रथुम, १९ वैशाख – सदरमुकाम म्याङलुङ्गमै रहेको सिंहवाहिनी माध्यमिक विद्यालयले अंग्रेजी माध्यमको पढाई सुरु गरेपछि अहिले विद्यार्थीको संख्या पहिलेभन्दा दोब्बर छ । सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यमको पढाई हुन थालेपछि अभिभावकले पनि आफ्ना नानीहरुलाई चर्को शुल्क तिरेर पढाइरहेका निजी विद्यालयबाट झिकेर सिंहवाहिनीमा भर्ना गरेका छन् ।

आठराई गाउँपालिका–४ इवामा रहेको रन्दल आधारभूत विद्यालयमा पनि उही लहर छ विद्यार्थी भर्नाको । अंग्रेजी माध्यमको पढाई सुरु भएपछि यो विद्यालयमा पनि विद्यार्थी भर्ना दर वृद्धि भएको छ । जिल्लाका अन्य सामुदायिक विद्यालयहरुमा पनि बर्सेनी अंग्रेजी माध्यमको पढाई लागु गरिएको छ । अंग्रेजी माध्यमबाट पठन–पाठन हुन थालेपछि विद्यार्थी भर्ना दर त बढेको छ नै, आम अभिभावकले विद्यालयलाई हेर्ने दृष्टिकोण नै बद्लिएर आएको शिक्षकहरु बताउँछन् ।

 

सदरमुकाममा रहेका झण्डै एक दर्जन निजी विद्यायलसँग प्रतिष्पर्धा गर्ने गरी आफूहरुले अंग्रेजी माध्यमको पढाई सुरु गरेपछि विद्यार्थीको संख्यो दोब्बरले वृद्धि भएको सिंहवाहिनी माविका प्रधानाध्यापक तेजबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘विद्यार्थी भर्नादर अत्यन्तै कम थियो, कक्षा छाड्ने अझै धेरै थिए, अहिले अंग्रेजी माध्यमले निजीमा जान थालेका विद्यार्थी पनि यतै भर्ना हुन आउँछन् ।’ सिंहवाहिनी माध्यमिक विद्यालयमा अहिले कक्षा–९ सम्म अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको छ ।

 

विद्यालयमा अंग्रेजी माध्यमको पढाईका लागि शिक्षक, अभिभावक र शिक्षाप्रेमीहरुबाट ठूलो लगानी र त्याग गरिएको रन्दल आधारभूत विद्यालयका प्रधानाध्यापक जयप्रकाश इङनामले बताउनुभयो । अंग्रेजी माध्यमले यसरी ध्यान खिच्यो कि दुई घण्टासम्म नानीलाई हिँडाउन थालियो । अभिभावकले घर छाडेर शहर बसेर भए पनि अंग्रेजी नै पढाउन चलन सुरु भयो । गाउँमा विद्यार्थी बस्न छाडेपछि बाध्य भएर आफूले विद्यालयमा अंग्रेजी माध्यमको पढाईको व्यवस्थापन गर्न थालेको उहाँले बताउनुभयो ।

 

रन्दल आधारभूत विद्यालयमा अहिले कक्षा–५ सम्म अंग्रेजी माध्यमबाटै पढाई भइरहेको छ । विद्यालयमा अंग्रेजी माध्यमको पढाइलाई दिगो बनाउन अक्षयकोष स्थापना गरिएको छ । ‘सबै कक्षामा अंग्रेजी माध्यम र कम्प्युटर कक्षा समेत अनिवार्य गर्ने लक्ष्य छ, अहिले ..त्यसका लागि अक्षयकोष संलकन अभियान जारी छ,’ प्रअ इङनामले भन्नुभयो, ‘कोषमा अहिलेसम्म ४६ लाख रुपैयाँ जम्मा भएको छ ।’

Source