नेपालगञ्ज, वैशाख ४ गते । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाउनुभएको हो ।
हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेट्नुभयो । त्यसपछि उहाँ बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गर्नुभयो । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन ।
बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाउनुभयो । त्यसपछि उहाँ बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आउनुभयो । बहिनी हिमाले भन्नुभयो, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ...