काठमाडौँ, वैशाख १४ गते । लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो। डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुने/नहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको बताइएको छ।
लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तीन महिनायता आयोगले पुरानो ब्याकअपबाट काम चलाउँदै आएको जनकारी दिनुभयो। “कात्तिक, मङ्सिर र पुसको डाटा अहिले आयोगसँग छैन। यस अवधिमा करिब चार लाख दरखास्त परेका थिए,” उहाँले भन्नुभयो, “नयाँ खाता बनाएर दरखास्त दिने करिब १६ हजारको डाटा हामीसँग केही पनि छैन। आयोगले केन्द्रसँग यस वर्षको सबै डाटा चाँडो रिकभर गर्न पत्राचारका साथै दबाब दिइरहेको छ तर केन्द्रले ‘प्रयास गरिरहेको छौँ’ भनेर अल्झाइरहेको छ।”
सूचना अधिकारी सुवेदीले केन्द्रबाट डाटा रिकभर भएर आए आयोगलाई परीक्षा सञ्चालन गर्न सहज हुने बताउनुभयो। उहाँले छिटोभन्दा छिटो डाटा रिकभर गर्न केन्द्रलाई यसअघि थुप्रै पटक पत्राचार गरिएको जानकारी दिनुभयो ...