काठमाडौं : दिनप्रतिदिन बैंकिङ कारोबारमा डिजिटल उपकरणहरू थपिँदै छन् । र, यसका प्रयोगकर्ता पनि बढ्दै छन् । यससँगै यसको जोखिम पनि बढेको छ । मुलुकले डिजिटललाई केन्द्रित गर्दै गतिविधि बढाएको छ । बिहीबारमात्रै नेपाल भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी (क्रस बोर्डर पेमेन्ट) गर्न सम्झौता भएको छ । यसले मुलुक र नागरिकलाई एड्भान्स बनाउँदै लैजाने अपेक्षा गर्न सकिन्छ । पछिल्लो समय एक हदसम्म विद्युतीय कारोबारमा फड्को मारेको तथ्यांकले प्रस्ट्याउँछ । तर, डिजिटल साक्षरतामा भने बैंकहरूले अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ ।
विद्युतीय उपकरणबारे बैंकहरूले अंग्रेजी भाषाको अधिकतम प्रयोग गर्दा धेरै ग्राहक झुक्किएको गुनासो छ । मोबाइल एसएमएस होस् वा इमेललगायत सबैमा नेपाली भाषा राख्न आवश्यक हुने ग्राहकहरू बताउँछन् । चाबहिलकी अस्थायी बासिन्दा एक महिलाले आफ्नो खाता भएको बैंकबाट मोबाइलमा अंग्रेजीमा आएको म्यासेज बुझिनन् । उक्त सन्देशमा अंग्रेजीमा लेखेअनुसार भनिएको थियो ‘डेबिट कार्ड नवीकरण गर्न मूल्य बढाएर ४ सय पुर्याइएको छ । तपाईं नवीकरण नगर्ने हो भने ‘नो’ लेखेर यो नम्बरमा पठाउनु होला ।’ यो मेसो नपाएर उनी नजिकैको बैंक शाखामा पुगिन् । ‘कर्मचारीलाई सोध्दा कसैले खाता खोलेको शाखा जानुस् भने । फेरि अर्को कर्मचारीले राम्रोसँग पढेर भनिदिए, नवीकरण गर्ने हो भने केही उत्तर नदिनुस्, नवीकरण नगर्ने हो भने ‘नो’ लेखेर पठाउनुस् भनेको हो,’ उनले सुनाइन् ।
बैंकमा उनीमात्रै होइन, अर्का एक युवा पनि सोही म्यासेज झुक्किएर मोबाइलमा हत्तपत्त नो लेखेर पठाएपछि डेबिट कार्ड बन्द हुने पत्तै भएन अब कसरी खुलाउने भनेर गुनासो लिएर आएका थिए । यद्यपि बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा समस्या परे गुनासो गर्न शाखा नै छुट्ट्याएर राम्रो व्यवस्था गरेको छ । जहाँ थुप्रै गुनासाहरू आउने गर्छन् । र सोहीअनुसार सम्बोधनको कोसिस गरी नै रहेका छन् । तर, जे भए पनि भाषामा मात्रै सरलीकृत गर्दा आम ग्राहकबाट सामान्य त्रुटिमा जानकार हुन पाउँछन् ...