Follow us: Youtube Android App
सरकार, दल र भाइरसको भर नपरौँ : आफ्नो सुरक्षा आफैँ गरौँ
२९ बैशाख २०७८

काठमाण्डाै l महिना दिन अघिसम्म नेपालीलाई लागेको थियो, कोरोनाकाल सकियो । तर वर्ष दिन नपुग्दै अर्को डरलाग्दो रूपमा कोरोना दोस्रो लहर भएर फर्कियो । छिमेकी देश भारतभन्दा डरलाग्दो भएर नेपालमा कोरोना फैलिएको छ । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ । सङ्क्रमित र परिवारको रुवाबासीले अस्पतालमा कोलाहल छ । असहाय स्वास्थ्यकर्मीको अनुहारमा चरम निराशा छ । कोरोनाबाहेक अरू खालका स्वास्थ्य समस्याले थला परियो भने पनि उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था आएको छ । कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने अनुमान नै गर्न नसकिने गरी अहिले कोरोनाको ग्राफ दिनदिनै उकालो चढ्दैछ ।

जताततै कोरोनाले हायलकायल बनाएको अवस्थामा सरकार र दलहरू कुर्सीको लडाइँमा दत्तचित्त भएर लागेका छन् । देश महामारीका कारण असामान्य अवस्थामा छ तर महामारी छँदै छैन जसरी राजनीतिक खेलहरू पनि असामान्य छन् । नागरिकलाई सरकार चाहिने बेला केन्द्र र प्रदेशमा सरकार गिराउने र बनाउने रमिता चलेको छ । सरकार र जिम्मेवार दलहरूको ध्यान कोरोना नियन्त्रण र रोकथाममा भन्दा सत्ता राजनीतिमा केन्द्रित छ । गाउँको सिंहदरबारको रूपमा काम गरिरहेका पालिकाले आफ्नो बलबुतामा केही काम गर्न खोजे पनि पर्याप्त छैन । महामारीको बेला स्वतःस्फूर्त उठेका सहयोगी हातहरूमा होस्टे हैँसे गर्नेहरू नगण्य छन् ।  

कोरोनाकालको यो कहालीलाग्दो अवस्थामा व्यक्ति आफैँ सचेत हुने तथा वडा र टोलटोलमै पालिकाका प्रतिनिधि र स्वयंसेवी अझै सक्रिय भएर नलाग्ने हो भने अवस्था अझै भयावह हुने निश्चित छ । कोरोनाबाट आफू बच्न र आफ्ना मान्छेलाई बचाउन आफैँ अग्रसर हुनु नै पहिलो काम हो । विज्ञहरूले अझै केही हप्ता कोरोनाको जोखिम कायमै रहने बताएका छन् । कोरोनाको जोखिमबाट बच्न अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कने, मास्क लगाउने, भौतिक दुरीको ख्याल गर्ने, बेलाबेला साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न त सबै अभ्यस्त भइसकेका छन् तर आफू र आफ्ना मान्छेलाई नपर्दासम्म कोरोनालाई भुसुनो जति पनि नठान्ने जमात अझै ठूलो छ । विज्ञहरूको भनाइमा कोरोना जसलाई पनि र जहाँ पनि हुन सक्छ । आफ्नै परिवारका सदस्य, नातागोता, आफन्त र साथीभाइलाई पनि कोरोना छ कि भनेर सतर्क हुनुपर्छ । घरबाहिरको दोबाटो, चौबाटो, चोक, चौतारो, खेलमैदान, चौर जताततै कोरोना आइसक्यो भन्ने ठान्नुपर्छ । विना काम लखरलखर हिँड्नु हुँदैन । स्वास्थ्य मापदण्ड र सरकारी आदेशको पालना गर्नुपर्छ । केही हप्ता यति अनुशासनमा बस्दै कष्ट सह्यौँ भने कोरोनाबाट बच्न सकिन्छ ...

समाचार स्रोत :