कृष्णबहादुर महरा अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्रै हुन्। हालै भएको महाधिवेशनपछि अन्य धेरै नेताहरूजस्तै महराको पद पनि टुंगो लागेको छैन। पटकपटक मन्त्री र सभामुख भइसकेका महरा रोल्पा र दाङमा बलियो पकड भएको नेता मानिन्छन्, जो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला नेता हुन्।
माओवादी केन्द्रको काठमाडौँमा पुस ११ देखि १८ सम्म भएको आठौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र २ सय ४६ केन्द्रीय सदस्य निर्वाचित गरेको छ। बहुपदीय संरचनामा गएको माओवादीले पदाधिकारी र बाँकी रहेका ५३ केन्द्रीय सदस्य चयन गर्न बाँकी छ। त्यस्तै, पदाधिकारी, स्थायी समिति, पोलिट्ब्युरो र विभिन्न विभागका प्रमुखहरुको टुंगो लगाउन बाँकी छ।
यहीबीचमा स्थानीय तहको चुनाव पछि सार्ने प्रस्ताव माओवादी केन्द्रले पाँच दलीय गठबन्धनमा लगेको छ। निर्वाचन आयोगले वैशाख २२ गतेभित्रै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दबाब दिएपनि गठबन्धन त्यसका लागि तयार छैन। असोज २ पछि मात्र निर्वाचन गर्नु उपयुक्त हुने उनीहरुबीच समझदारी बनेको छ ...