Follow us: Youtube Android App
Somersby Nepal
यस्ता छन् गृहमन्त्री थापाले ५० दिनमा गरेका ५० काम (सूचीसहित)
३ बैशाख २०७५


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको ५० दिनमा गरेका ५० कामको विवरण गृहमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ । विवरणमा गृहमन्त्री थापाले गत फागुन १४ गते कार्यभार सम्हालेयता गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा गरिएका सुधारहरु उल्लेख गरिएका छन् ।

हेर्नुस् गृहमन्त्रीले गरेका काम
 

 

गृह प्रशासन सुधार र सुशासनतर्फ
१) गृहमन्त्रीले गत चैत १९ गते ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिको लागि शान्ति सुरक्षा र सुशासन’भन्ने मुख्य नारा रहेको ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गर्नुभयो । कार्ययोजनामा गृह मन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ ।

२) यातायातका क्षेत्रमा रहेको सिण्डिकेट तोड्नका लागि यातायात व्यवसायी समितिले संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयबाट हाल गैरसरकारी संस्थाका रुपमा गर्दै आएको दर्ता तथा नवीकरण कार्य रोक्नेसम्बन्धी गृहमन्त्रीस्तरीय निर्णय भएको र सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।

३) त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर नेपाल ल्याइएको भनिएको साढे तेत्तीस किलो सुन काण्डमा एक जनाको अपहरणपछि हत्या भएको घटनामा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो छानबिन जारी राखेको छ । सो क्रममा सुन तस्करीमा संलग्न ठूलो ¥याकेटको पहिचान हुन सफल भएको छ ।

४) बढी सार्वजनिक बिदा हुँदा कार्यअवधिका दिन घटेको तथा आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको विश्लेषणसहित गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । यस्तै कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडवाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई समेत अन्त्य गर्दै अब त्यस्ता बिदा सम्बन्धित जाति, समुदाय, धर्म या भेग विशेषलाई मात्र दिने निर्णय भएको छ ।्

५) सरकारी नम्बर रहेका सेतो प्लेटका सवारी साधनलाई नियम विपरीत रातो नम्बर बनाई प्रयोग गर्नुका साथै दुरुपयोग भइरहेको गुनासोपछि गृह मन्त्रालयले त्यस्ता सबै सवारीसाधनलाई सेतो नम्बर प्लेट बनाउन दिएको निर्देशन कार्यान्वयनमा आइसकेको छ ।

६) शनिबार र अन्य बिदाका दिन सरकारी र संस्थानका गाडी जथाभावी प्रयोग भइरहेको र दुरुपयोग भइरहेको गुनासोलाई सम्बोधन गर्दे गृह मन्त्रालयले अत्यावश्यक अवस्थामा पास लिएरमात्रै बिदाका दिन त्यस्ता सवारी साधन चलाउन र पास नभएका सवारीलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई दिएको निर्देशन कार्यान्वयमा आइरहेको छ ।

७) प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन करारको मस्यौदा तयार भइसकेको छ । अब सोहीअनुसार प्रजिअको कामको आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटीको व्यवस्था हुनेछ ।

८) जिल्लामा शान्ति सुरक्षा, सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सिडियोलाई गृह मन्त्रालयले ३७ बुँदे निर्देशन जारी गरेको र सोहीअनुरुप हाल कार्य भइरहेको छ ।

९) गृहमन्त्रीले ट्राफिक व्यवस्थापनलगायत सडक यातायातका क्षेत्रमा सुधार ल्याउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम शुरु गर्नुभएको छ । ‘लोडसेडिङमुक्त नेपाल सम्भव भएझैँ, ट्राफिक जाममुक्त नेपाल’ पनि सम्भव रहेको भन्दै गृहमन्त्रीले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गर्नुभएको हो । सोही विषयमा केन्द्रित रहेर विभिन्न मन्त्रालयका सचिव र उच्चअधिकारीको सहभागितामा गृह मन्त्रालयमा तीन चरणको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

१०) यातायात तथा ट्राफिक सुधारका सम्बन्धमा गृहमन्त्रीको अध्यक्षतामा गृह मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, काठमाडौँ महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुखलगायत सदस्य रहेको निर्देशन तथा अनुगमन समिति गठन गरेको छ । सो समितिले यातायात व्यवस्थापन र ट्राफिक जाम हटाउने विषयमा महत्वपूर्ण काम गरिरहेको छ । समितिले सडक तथा पुलको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही शुरु गरेको छ । यस्तै उपत्यकाभित्रका ‘जेब्रा क्रसिङ’ भएका ठाउँमा तत्काल रंगरोगन गरेर चिह्न राख्ने काम तीव्र गतिमा भइरहेको देख्न सकिन्छ ।

११) पर्साको सुगौली पर्तेवामा बलात्कारमा परेकी आठ वर्षीया बालिकाको स्वास्थ्य अवस्थाबारे गत फाुगन २५ गते राजधानीको ग्रीनसिटी अस्पतालमा पुगेर गृहमन्त्रीले जानकारी लिनुभएको थियो । सो क्रममा बालिकाको उपचारमा सम्पूर्ण सहयोग गर्ने गृहमन्त्रीको प्रतिबद्धताअनुरुप केही दिनपछि बसेको मन्त्रिपरिषद्को बैठकले बालिकाको उपचार खर्चबापत रु पाँच लाख दिने निर्णय गरेको थियो ।

१२) गृहमन्त्री बादलले भ्रष्टचार, तस्करी र अपराध नियन्त्रणका लागि आफूले अभियान शुरु गरेको भन्दै यसमा सबै पक्षलाई सहयोगका लागि सार्वजनिक रुपमा आह्वान गर्नुभएको छ । उहाँले यस्ता गतिविधिको सूचना गृहलाई उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको छ ।

१३) देशभर महिला हिंसाका घटना बढ्दै गएपछि तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई गृह मन्त्रालयमा बोलाएर बलात्कारका घटनामा शून्यसहनशीलता अपनाउन र यस्ता घटनामा मिलापत्र गराउनेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीले निर्देशन दिनुभएको थियो ।

१४) गृहमन्त्रीले आफ्नो सवारीको क्रममा अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा साइरन नबजाई सवारी चलाउन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।..

Source