काठमाडौं । सानै हुँदा स्कुलमा सर/मिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स ! बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा गर्थें !’ सामान्य घरपरिवारमा जन्मिएकी प्रतिमालाई नर्सिङ पढाउन निरौला परिवारको बलबुताले भ्याएन ।
आफूले देखेको सपना पूरा गर्न उनले छात्रवृत्तिमा नाम निकालिन् । जेनतेन बुबा–आमाले फ्याक्ट्रीमा काम गरेर भए पनि अन्य खर्च जुटाए । २०६९ सालमा पीसीएल नर्सिङ पास गरेपछि तीन वर्ष नोबेल मेडिकल कलेजमा काम गरिन् । त्यसपछि २०७५ सालमा बीएस्सी नर्सिङ पास गरेर पुनः नोबेलमा काम गर्न थालिन् । विडम्बना मेडिकल कलेजले पीसीएल पास गरेर काम गर्न जाँदा भन्दा कम तलब दियो ।
नोबेलले तत्कालीन समयमा पीसीएल पास गरेर काममा जाँदा १५ हजार दियो । त्यसपछि, ब्याचलर्स गरेर जाँदा जम्मा साढे १२ हजार । उनीसँग अरू कुनै विकल्प पनि थिएन । निजी अस्पतालमा सबैतिर उही हालत । नोबेलमा काम गर्दै गर्दा त्रिवि शिक्षण अस्पतालमा २०७६ सालमा करारमा प्रवेश गर्ने मौका पाइन् ...