काठमाडौं । काठमाडौंका शक्तिशालीहरुको कोठाचोटामा सधैंजसो सुन्न पाइन्थ्यो-भारत खुलेआम हस्तक्षेप गर्छ, चीनचाहिँ चुपचाप नरम कूटनीति गर्छ । पछिल्ला वर्षहरुमा ठिक यसको उल्टो परिदृश्य देखिन्छ ।
शनिबारकै घटना हेर्यौं भने पनि एकसरो झलक मिल्छ, जहाँनेर चिनियाँ राजदूत नेपालीलाई अर्को छिमेकी भारतसँग कसरी चल्ने भनेर अर्तीबुद्धि दिँदै थिए । चीनका राजदूत छेन सङले राजधानीमा आयोजित कार्यक्रममा नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताको प्रतिकूल हुने गरी लामै बोले ।
उनले त्यहाँ बोले :
‘मैले काठमान्डु पोस्टमा केही दिनअघि मात्रै पढेँ । नेपालका हरेक राजनीतिज्ञ, नेता, व्यवसायी र आम जनता चीनमा भन्दा बढी बिजुली भारत निर्यात गर्ने कुरा गरिरहेका छन् । त्यसपछि हामी स्वतन्त्र अर्थतन्त्र बन्नेछौं भनेर भन्छन् । वास्तविकता के हो ? म यहाँ राख्न चाहन्छु । नेपालले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको थियो । भारतबाट कति आयात गर्यो ? तपाईंले भारतबाट १९ अर्ब नेपाली रुपैयाँको बिजुली आयात गर्नुभयो । तपाईले बिजुली व्यापारमा घाटा गर्नुभयो । बिजुली तपाईले गर्व गर्ने उत्पादनहरु मध्ये एक हो । तपाईहरू सोच्नुहुन्छ कि यसले मुलुकमा आर्थिक स्वतन्त्रता ल्याउनेछ ।’...