Follow us: Youtube Android App
चतुर्मुखी शिवलिंग गुपचुप जिम्मा
१२ बैशाख २०७८

काठमाडौँ l पशुपति मन्दिर परिसरबाट ३८ वर्षअघि हराएर अमेरिकाको सिकागोमा भेटिएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’ ले ‘गोप्य’ रूपमा वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको छ ।

दूतावासमा गत साता बुझाइएको यो सम्पदाको स्रोत र संकलनकर्ता आपसी सहमतिअनुसार खुलाउन नमिल्ने प्रतिक्रिया आर्ट इन्स्टिच्युट र दूतावासका अधिकारीले दिएका छन् । अमेरिकाबाट प्रकाशन हुने कला–सम्पदासम्बन्धी जर्नल ‘आर्ट–न्युज’ ले यो सूचना बाहिर ल्याएपछि सम्पदाविद्हरूले भने नेपालबाट चोरिएको सम्पदालाई वर्षौंसम्म प्रदर्शनीमा राखेर प्रतिष्ठा बटुलेको म्युजियमले सम्पदा चोरी र अपराधीकरणमा बल पुग्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

अन्वेषक लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा यो शिवलिंग मूर्ति पशुपति पञ्चदेवल बाहिरपट्टि रहेको विवरणमा उल्लेख छ । यो मूर्ति सन् १९८४ जुलाईमा हराएको थियो । मूर्ति संकलनकर्ता मार्लिन ब्रुडर एल्सडर्फको २०१९ अगस्ट १ मा अमेरिकामा मृत्यु भएपछि मात्रै ‘शिवलिंग मूर्ति नेपालको रहेको र यसलाई नेपाल फर्काउनू’ भनेर लेखिएको इच्छापत्र सार्वजनिक भएको हो । श्रीमान् जेम्स डब्लू एल्सडर्फको सन् १९९० अप्रिल २४ मा ७६ वर्षको उमेरमा निधन भएपछि कला सम्पदाको संकलकका रूपमा मार्लिन अघि सरेकी थिइन् । अर्बपति व्यापारी तथा लगानीकर्ता जेम्स डब्लू एल्सडर्फ स्वयं सन् १९७५ देखि ७८ सम्म आर्ट इन्स्टिच्युट अफ सिकागोको बोर्ड अध्यक्ष थिए । उनले अमेरिकाको सांस्कृतिक मामिला समितिको सूचना एजेन्सीमा पनि तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र त्यसपछि जर्ज बुस (सिनियर) बाट नियुक्ति पाएका थिए ।

समाचार स्रोत :