काठमाडौं l कानुनविद् तथा विज्ञहरूले प्रधानमन्त्रीको राजीनामा बिना नयाँ सरकार बनाउन राष्ट्रपतिले गरेको आग्रह अस्वभाविक र असंवैधानिक रहेको बताएका छन्।
उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री दुवै असंवैधानिक बाटोमा अघि बढेको चिन्ता व्यक्त गर्दै यसलाई नसच्चाएर मुलुकमा दुर्घटना हुने चेतावनी दिएका छन्। संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले ७६ (६) अनुसार नयाँ सरकार बनाउन २१ घन्टे म्यादसहित बिहीबार साँझ अपिल गरेकी छिन्।
संविधानविद् वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि प्रधानमन्त्री पदमुक्त नहुँदै संविधानको नयाँ व्यवस्थाअनुसार अर्को सरकार गठनको प्रक्रिया थाल्नु संविधान विपरीत भएको बताउँछन्। उनको प्रश्न छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार कसरी गठन हुनसक्छ ? ...