Follow us: Youtube Android App
महामारीले थलिएको आर्थिक क्षेत्रलाई कसरी सघाउनुपर्छ सरकारले?
२९ बैशाख २०७८

मुलुक यतिबेला कोभिड–१९ संक्रमण महामारीको दोस्रो लहरको चपेटामा छ। दोस्रो लहरमा संक्रमण तीव्र फैलिन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लासहित धेरैजसो जिल्लामा निषेधाज्ञा लागू गरिँदा फेरि देश नै बन्दाबन्दीको अवस्थामा पुगेको छ। संक्रमितको बढ्दो संख्यालाई स्वास्थ्य पूर्वाधारले धान्ने अवस्था नरहँदा संक्रमण रोकथामका लागि फेरि एकपल्ट बन्दाबन्दीको उपाय अपनाउनुपरेको छ। जसका कारण महामारीबाट थलिएको अर्थतन्त्र लयमा फर्किन नपाउँदै फेरि थलिएको छ।

नेपाल सरकारले गत वर्ष बन्दाबन्दी घोषणापछि आर्थिक चापमा परेका व्यक्ति तथा व्यवसायीका लागि तत्काल राहतका उपायहरू ल्यायो। साथै, नयाँ आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिद्वारा मध्यमकालीन पुनरुत्थानका नीति तथा कार्यक्रम पनि सरकारले ल्याएको छ।

कोभिड-१९ को दोस्रो लहर आइसकेको अहिलेको अवस्थामा आगामी आर्थिक वर्ष २०७८/७९ को आर्थिक तथा मौद्रिक नीति तयार पार्ने बेला भएको हुनाले गत वर्षका नीतिहरू र तिनका प्रभावकारिताको समीक्षा गरी नीति तथा तिनका तर्जुमाबारे पुनर्विचार गर्न आवश्यक छ। हालको निषेधाज्ञाले अर्थतन्त्रलाई फेरि समस्यामा पार्ने सुनिश्चित भएकाले गत वर्ष अपनाइएका उपायहरूको लेखाजोखा गर्नु सान्दर्भिक हुन्छ ...